युलेन्स एजुकेशन फाउन्डेशन युलेन्स स्कुल र नेतृत्व सम्बन्धी मिडियामा आएका गलत समाचारको भर्त्सना गर्दछ

काठमाडौं, ४ भदौ २०८२
१६ अगष्ट, २०२५ मा नागरिक दैनिक, माई रिपब्लिका र केही युट्युब च्यानलहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री कुमार प्रसाद दाहालको सरुवा सम्बन्धी समाचारमा युलेन्स स्कुल र यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष माननीय डा. आरजु राणा देउवा ज्यूको संलग्नता देखाई प्रकाशित भएको समाचारमा युलेन्स स्कुल गम्भीर चासो व्यक्त गर्दछ। सम्प्रेषित समाचारहरूमा युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि श्री दाहाललाई सरुवा गरिएको भ्रामक, मिथ्य, मनगढन्ते र तथ्यहीन समाग्री प्रकाशित गरिएको थियो। उक्त सामाग्री माननीय डा. आरजु राणा देउवा ज्यू लाई पूर्वाग्रहबाट प्रेरित र कपोलकल्पित रूपमा जोडी झूटो, वदनियतपूर्ण र चरित्रहत्या गर्ने मनशायले समाचार सम्प्रेषण गरेको देखिन्छ।
श्री दाहालको नेतृत्वमा विभागले काठमाडौंका लगभग २८ विद्यालयहरूमा अनुगमन गरी समीक्षाको लागि विभिन्न कागजातहरू पेश गर्न अनुरोध गरेको थियो । युलेन्स स्कुलको संस्थापक संस्था युलेन्स एजुकेशन फाउण्डेशनले विभागले माग गरेको सबै सूचना, जानाकारी र कागजातहरू तोकिएको समयमा नै पेश गरी विभागको अनुरोधको पूर्ण पालना गर्यो। माग गरेका सबै कागजात र सूचना तथा जानाकारी सम्बन्धित विभागमा बुझाएपछि विभागद्वारा कुनै औपचारिक जानाकारी दिइएन। जरिवाना गरिएको सूचना वा जानकारी यस युलेन्स एजुकेशन फाउण्डेशनलाई दिइएको छैन। यो अनुगमनलाई विद्यालयले सरकारी नियामक निकायहरूद्वारा गरिएको नियमित निरीक्षण र अनुगमनको रूपमा ग्रहण गर्यो। सरकारी निकायहरूद्वारा गरिने सामान्य अनुगमन र निरीक्षणको जानाकारी विद्यालयले व्यवस्थापन समितिका अध्यक्ष ज्यूलाई दिइरहन आवश्यक पनि थिएन। यो विषय उहाँको जानकारीमा थिएन र विद्यालयले जानकारी गराउने पनि रहेन। त्यसैले पनि माननीय डा आरजु राणा देउवा यस विषयमा पूर्ण रुपमा अनभिज्ञ हुनुहुन्थ्यो। त्यसकारण श्री दाहालको सरुवामा माननीय डा. आरजु राणा देउवाको संलग्नता रहेको भनिएको समाचार अनपेक्षित, अत्यन्तै दुःखद, तथ्यहीन, कपोलकल्पित र भ्रामक हो।
यसको अलावा युलेन्स स्कुल माननीय डा. आरजु राणा देउवाको स्वामित्वमा रहेको भनी गरिएको प्रचार तथ्यहीन, गलत र भ्रामक छ। माननीय डा. देउवाले युलेन्स स्कुलको स्थापनादेखि नै शिक्षा ऐन अनुसार गठित विद्यालय व्यवस्थापन समितिको अवैतनिक र स्वयम्सेवक अध्यक्षको रूपमा सेवा गरिरहनु भएको छ। युलेन्स स्कुल युलेन्स एजुकेशन फाउण्डेशनको स्वामित्वमा छ, जुन नाफा वितरण नगर्ने कम्पनीको रुपमा स्थापित भै सञ्चालनमा रहेको छ। युलेन्स एजुकेशन फाउन्डेशनले खुमल्टार, ललितपुर र बाँसबारी, काठमाडौँमा गरी दुईवटा विद्यालयहरू सञ्चालन गरिरहेको छ। यस युलेन्स एजुकेशन फाउण्डेशनमा कुनै व्यक्तिगत तथा संस्थागत शेयर लगानीकर्ता छैनन्।
विद्यालयको शुल्क संरचनाको सन्दर्भमा, युलेन्स स्कुल खुमल्टार, ललितपुरलाई ललितपुर महानगरपालिका, शिक्षा विभागले ‘क’ श्रेणीको विशेष सुविधा युक्त विद्यालयको रूपमा वर्गीकृत गरेको छ। त्यसैले विद्यालयले अभिभावकहरूको संलग्नतामा पारदर्शी र सहभागितामूलक प्रक्रिया मार्फत विद्यालयको शुल्क संरचना निर्धारण गरी कार्यान्वयन गर्दछ। विद्यालयद्वारा प्रस्तावित शुल्कहरू युलेन्स एजुकेशन फाउण्डेशन र विद्यालयको विद्यालय व्यवस्थापन समितिको संयुक्त वैठकद्वारा समीक्षा गरी त्यसको जानाकारी ललितपुर महानगरपालिकाको शिक्षा विभागमा पेश गरिन्छ। यसरी विभागमा पेश गरेको शुल्कलाई विद्यालयका दुई तिहाइ अभिभावकज्यूहरूको भेलाले अनुमोदन गरी स्वीकृतिको लागि पुन: ललितपुर महानगरपालिकाको शिक्षा विभागमा पेश गरिन्छ। विभागबाट आधिकारिक स्वीकृति प्राप्त भएपछि विद्यालयले स्वीकृत शुल्क कार्यान्वयन गर्छ। यस विषयमा सम्बन्धित ललितपुर नगरपालिकाको पत्र सन्दर्भको लागि यसैसाथ संलग्न गरिएको छ।
युलेन्स स्कुलले अनधिकृतरूपमा “विदेशी” कार्यक्रमहरू सञ्चालन गरेको भन्ने आरोपको सन्दर्भमा यस विद्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विधिवत् रूपमा स्वीकृति प्राप्त गरी किन्डरगार्टेन देखि कक्षा १२ सम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। युलेन्स स्कुल आई.बि. डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्ने देशकै पहिलो विद्यालय हो। यस विद्यालयले आई.बि.ओ. (IBO) तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कानूनि रुपमा स्वीकृति प्राप्त गरी वैधानिक रुपमा सन् २००९ देखि कक्षा ११ र १२ को समकक्षी कार्यक्रम आ.ई.बी. डिप्लोमा तह सञ्चालन गरिरहेको छ। सम्बन्धित सरकारी निकायहरूको स्वीकृति बिना तथा अवैधानिक रूपमा यस विद्यालयमा कुनै पनि कार्यक्रम सञ्चालन गरिएको छैन र सञ्चालन हुँदैन।
युलेन्स एजुकेशन फाउण्डेशनले आफ्नो स्थापनाको दिनदेखि नै नेपाल सरकारले तोकेका सबै ऐन, कानुन , नियमावलि , निर्देशन आदिको पूर्ण पालना गरिरहेको छ। यो फाउण्डेशन नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा दर्ता हुने संस्थाहरू मध्येको अग्रणी संस्था हो। नेपाल सरकारले दुई वर्ष अघि सामाजिक सुरक्षा कोषमा शिक्षा क्षेत्रबाट सबैभन्दा उत्कृष्ट योगदानकर्ताको रुपमा यस फाउण्डेशनलाई सम्मान गरेको थियो। युलेन्स एजुकेशन फाउण्डेशनले राष्ट्रिय कर नीति र प्रक्रियाहरू अनुसार आफ्नो कर दायित्वहरू नियमित र समयमा नै पूरा गर्दै आएको छ। यस फाउण्डेशनको वार्षिक कारोबारको आधारमा नेपाल सरकारले गत वर्षदेखि साना करदाताको वर्गबाट मध्यम-स्तरीय करदाताको रूपमा वर्गीकरण गरेको छ। प्रत्येक वर्ष आन्तरिक राजस्व कार्यालयद्वारा यस फाउण्डेशनको कर निर्धारण हुने गरेको छ।
माथिका सबै सूचना, तथ्य र प्रमाणहरूका आधारमा युलेन्स एजुकेशन फाउण्डेशन सम्बन्धित सबै सञ्चार गृह, सञ्चारकर्मी, युट्युवकर्मीहरूलाई उहाँहरूले सम्प्रेषण गर्नुभएको सूचना तथा खबर सत्य, तथ्यमा आधारित छ/छैन जाँच गरी सत्य र तथ्यमा आधारित सही सूचना तथा समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछ। युलेन्स एजुकेशन फाउण्डेशन एउटा पारदर्शी संस्था हो। यो संस्था आफ्ना अभिभावक, सम्बन्धित सरकारी निकाय, सरोकारवाला संस्था, सञ्चार गृह, सञ्चारकर्मी सबैलाई सान्दर्भिक र आवश्यक सबै सूचना तथा जानाकारी प्रदान गर्न प्रतिवद्ध छ । हामी युलेन्स स्कुल र यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष माननीय डा. आरजु राणा देउवा माथि लगाइएका भ्रमपूर्ण, कपोलकल्पित र झूटा आरोप र बदनियतपूर्ण सम्प्रेषित समाचार प्रति निन्दा तथा भर्त्सना गर्दछौँ।
यस सम्बन्धी विस्तृत जानकारीको लागि सम्पर्क व्यक्ति :
मेदिन लामिछाने
प्राज्ञिक विभाग प्रमुख, युलेन्स एजुकेशन फाउण्डेशन तथा प्रिन्सिपल युलेन्स स्कुल
सम्पर्क नं: ९८५१०९२५४९